स्टार्टअप उद्यम सुरु गरेका वा त्यसको सोच बनाएकाहरूका लागि उत्साह थप्ने गरी सरकारले केही महिना पहिले राष्ट्रिय स्टार्टअप उद्यम नीति-२०७९ को मस्यौदा सार्वजनिक गरेको छ। नेपालमा स्टार्टअपका क्षेत्रमा यत्तिको विस्तृत नीति र परिभाषाहरू संभवतः यसअघि आएका थिएनन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो मस्यौदामा सुझावहरू संकलन गरिरहेको छ।
प्रस्तावित नीतिले नवीन अन्वेषण तथा सृजनशील सोचको प्रयोग गरी व्यावसायिक रूपमा सञ्चालित भई स्तरोन्नतिको संभावना रहेको उद्यम वा व्यवसायलाई स्टार्टअप मानेको छ। त्यसमा वस्तु, सेवा वा प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणका क्षेत्रहरू समावेश हुन सक्छन्। अर्थात् यी क्षेत्रमा उद्यमीहरूले सञ्चालन गरेका र निरन्तर विकासको संभावना रहेका व्यवसायहरूलाई स्टार्टअप मानिने भएको छ।
अब साना तथा मझौला उद्योग वा व्यवसायलाई स्वतः स्टार्टअपमा समावेश नगरिने भएको छ। तथापि स्टार्टअपको दर्ता भने हाल कार्यान्वयनमा रहेको औद्योगिक व्यवसाय ऐन बमोजिम लघु तथा साना उद्योग अन्तर्गत हुनेछ। सो ऐनअनुसार रु.१५ करोडसम्म लगानी भएको व्यवसायलाई साना उद्योग मानिन्छ भने अधिकतम रु.२० लाख लगानी भएको उद्यमलाई लघु उद्यमअन्तर्गत वर्गीकरण गरिएको छ। लघु उद्यममा उद्यमी स्वयं संलग्न हुनुपर्ने, बढीमा नौ जनासम्म कामदार हुनुपर्ने, वार्षिक कारोबार रु.१ करोडभन्दा कम हुनुपर्ने जस्ता व्यवस्था छन्।
सरकारले नीतिमा गरेको प्रस्ताव अनुसार यहाँ उल्लेख गरिएकामध्ये कम्तीमा पाँच मापदण्ड पूरा गरेको हुनुपर्छ। तर त्यस्तो व्यवसाय वा व्यवसायी कालोसूचीमा परेको, स्थायी लेखा नम्बर नलिएको र ठूला वा मझौला उद्योगको वर्गीकरणमा नपरेको हुनुपर्छ।
गत वर्षको अन्त्यतिर उद्योग विभागले स्टार्टअप उद्यमको सहयोगका लागि आह्वान गरेको आवेदनका लागि पनि यस्तै प्रकारका उद्यम वा व्यवसायहरूलाई मापदण्डमा समावेश गरेको छ। त्यसमा खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन लगायत थप क्षेत्र समेत उल्लेख छन्।
उद्योग विभागको मापदण्डलाई आधार मान्ने हो भने सरकारले तोकेको स्टार्टअपको मापदण्डभित्र पर्नका लागि उद्यम सात वर्ष ननाघेको हुनुपर्नेछ।
विभागले पनि कालोसूचीमा परेको, स्थायी लेखा नम्बर नलिएको र ठूला वा मझौला उद्योगको वर्गीकरणमा नपरेको उद्यमलाई मात्र सुविधा उपलब्ध गराउने बताएको छ।
त्यसो त उसले एकल सेयरधनी भएको कम्पनीलाई पनि सुविधा नदिने भनेको छ जुन कुरा स्टार्टअप नीतिको परिभाषासँग पनि मेल खान आउँछ। नीतिमा पनि ‘उद्यमशील समूह’ले सञ्चालन गरेको उद्यम वा व्यवसाय भनेर उल्लेख गरेको छ ।
नीतिको मस्यौदाले उद्यमशीलताको विकासका लागि समग्र स्टार्टअप इकोसिस्टमलाई नै प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सातै प्रदेशमा स्टार्टअप इन्क्युबेशन सेन्टर, इनोभेशन सेन्टर र बिजनेश ल्याबहरू स्थापना गर्ने भनिएको छ।
यस्ता सेन्टरहरू विश्वविद्यालय तथा कलेजस्तरमा वा निजी संस्थामा पनि खोल्न सकिनेछ । ती सेन्टरले व्यावसायिक सल्लाह, सहयोग लगायत कार्यक्रम सञ्चालन गरी सोचलाई उद्यमसँग जोड्न र विचारलाई बजारीकरण गर्नका लागि आवश्यक साधन स्रोत उपलब्ध गराउने, मेन्टरसिप, तालिम, बजारीकरण र नेटवर्किङ लगायत कार्यक्रम गर्नेछ।
यदि नीतिमा प्रस्ताव गरिएका कार्यहरू इमानदारीपूर्वक लागू हुने हो भने नेपालमा उद्यमी बन्नका लागि अनुकूल वातावरण सिर्जना हुनेछ। त्यस्ता केन्द्रहरूले स्टार्टअप उद्यमीहरूलाई कानुनी, प्राविधिक, बजार, ब्रान्डिङ र बौद्धिक सम्पत्ति लगायत विषयमा तालिम र अन्य आवश्यक सेवा-सुविधा उपलब्ध गराउनुपर्ने पनि नीतिमा उल्लेख छ। तर यस्तो सेवाका लागि प्रविधि र आर्थिक विषयमा सरकारहरूले पनि केही सहयोग गर्ने हो भने त्यसको प्रभावकारिता अझ राम्रो हुने देखिन्छ।
Don't miss out on the chance to be part of Nepal's fastest-growing freelancer community. Register with ExpertNepal.com today and let your skills shine!
2024 © Expert Nepal All Rights Reserved.